सेयर बजारमा ‘करेक्सन’, ३ कम्पनीको शेयर सकरात्मक सर्किट लेभलमा कारोबार |
काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ ।
नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेकाे छ । उता ‘क’ वर्गका काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले बढेकाे छ ।
यसअ अघि आइतबार नेप्से परिसूचक २ हजार ९ सय ८३ मा पुगेको रेकर्ड कायम भएके थियो । तर आइतबारको रेकर्ड सोमबारसम्म पनि टिक्न सकेन । सोमबार ३ हजार भन्दा माथि पुगेर नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।
नेप्से परिसूचकमा करेक्नसन देखिए पनि काराेबार रकममा भने उल्लास नै देखिएकाे छ । काराेबार रकम १६ अर्ब ५२ कराेड ८७ लाख रूपैयाँ भन्दा धेरै भएकाे छ ।
नेप्से सूचकमा सामान्य करेक्सन देखिएपनि तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिईडिबी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र युनियन हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ। यस्तै ओरेन्टल होटल र एचआईडिसीएलको पनि शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेका छन्।
यता छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ७.६६ प्रतिशतले घटेको छ। यस्तै, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेपाल हाइड्रो डेभलपर, सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य पनि ६ प्रतिशतभन्दा धेरैले घटेकाे छ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहको सूचकमध्ये ८ उपसमुहको सूचक नकारात्मक बन्दा ५ उपसमूहको सूचक मात्रै सकारात्मक देखिएका छन्। अन्य उपसमूहको सूचक ४ प्रतिशतले बढ्दा विकास बैंक उपसमूहको सूचक भने ४.४२ प्रतिशतले घटेको छ। यस्तै फाइनान्स उपसमूहको सूचक पनि ३.२९ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थान रहेको छ। यस दिन पुनर्बीमा कम्पनीको ७६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै एचआईडिसीएलको ५२ करोड ३१ लाख रुपैयाँ, एचडिएलको ४२ करोड ३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएकाे छ।