नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेको राजीनामा |

काठमाडौं । नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएका छन् ।
पूर्वपर्यटन सचिवसमेत भइसकेका घिमिरेलाई सरकारले २०७७ वैशाखमा कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।
योगेश भट्टराई मन्त्री हुँदा अध्यक्ष नियुक्त घिमिरे भानुभक्त ढकाल मन्त्री हुँदा पनि निरन्तर थिए ।
हालैमात्र जनता समाजवादी पार्टी (महन्थ ठाकुर पक्ष)बाट उमाशंकर अगरिया पर्यटनमन्त्री हुनेवित्तिकै घिमिरेले राजीनामा दिएका हुन् ।
यद्यपी घिमिरेले भने मन्त्रीसँग कुनै पनि विवाद नरहेको प्रष्ट पारेका छन् । उनले नितान्त व्यक्तिगत कारणले नेपाल एयरलाइन्स छोड्न चाहेको प्रष्ट पारेका छन् ।
पर्यटनमन्त्री अगरियाले भने आफू मन्त्री हुनुपहिले नै घिमिरेको राजीनामा आएको र आज आफ्नो टेबलमा पत्र आएको जानकारी दिए ।
’उहाँले पहिले नै राजीनामा पत्र दिनुभएको रहेछ । आज मेरो टेबलमा आएको छ । उहाँले पारिवारिक कारणले आफै छोड्न चाहनुभएको रहेछ । उहाँसँग कुरा बुझेरमात्र स्वीकृत गर्ने वा नगर्ने निर्णय हुन्छ’ मन्त्री अगरियाले भने ।
