सन् २०२५ सम्ममा हुवावेले चालकबिनाको कार निर्माण गर्ने |

पछिल्लो समय हुवावे टेक्नोलोजीले आफ्नो योजना र काम अटो क्षेत्रतर्फ बढाइरहेको छ । यस्तैमा कम्पनीले सन् २०२५ को आगमनसँगै चालकबिनाको सार्वजनिक गाडी उत्पादन एवम् बिक्री थाल्ने योजना बनाएको अटो हिन्दुस्तानले जनाएको छ ।
हुवावे संसारको सबैभन्दा ठूलो दूरसंचार कम्पनी हो। अटो हिन्दुस्तानका अनुसार कम्पनीको योजना भनेको संसारको विभिन्न सडकमा चालकबिना कै कार कुदाउनु हो । भन्नाले गाडी स्वː चालित हुनेछ ।
हालसालै हुवावेले चोङ्किङ्ग चाङ्गान अटोमोबाइल कम्पनी लिमिटेडसँग आफ्नो सम्झौता विस्तार गरेको छ । यो अटोमोबाइल कम्पनीले हुवावेलाई डिजाइन र उत्पादनमा सघाउँनेछ । रिपोर्ट अनुसार हुवावेले पछिल्लो केही समयदेखि विद्युतीय उत्पादनको विषयमा अन्य दुई चिनियाँ अटोमोबाइल कम्पनीसँग पनि छलफल गरिरहेको थियो ।
चालकबिनाको कार बनाउने कम्पनीको सुरूआती चरणदेखिको उद्देश्य हो।‘हाम्रो टिमको लक्ष्य भनेको सन् २०२५ सम्ममा चालकबिनाको सार्वजनिक कारहरू निर्माण गर्नु हो’ हुवावेको स्मार्ट सवारी इकाईका वरिष्ठ कार्यकारी वाङ जुनले एक उद्योग सम्मेलनमा भनेका छन् ।
हुवावे मुख्यतयाः स्मार्टफोन उत्पादन र बिक्रीको लागि प्रख्यात थियो। तर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुवावे अमेरिकाको लागि खतराका रूपमा लिएपछि यसले आफ्नो काम अन्त पनि थाल्यो । विकल्पको रूपमा अटोमोबाइल क्षेत्रमा राम्रो क्षमता देखेर यसैमा बढी केन्द्रित भयो ।
तर यसो भन्दैमा कम्पनीले पूर्ण रूपमा अटो क्षेत्रमा केन्द्रित नहुने बताउँछ। गत वर्ष हुवावेका प्रवक्ताले भनेका थिए, ‘हुवावे कार निर्माण कम्पनी भने होइन।’
टेक कम्पनी हुवावे अटो क्षेत्रमा प्रवेश गर्ने थोरै कम्पनीहरू मध्ये पर्छ। यो बाहेक साओमी र ओपोले पनि अटो क्षेत्रमा चासो बढाएको छ।