राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ६ वर्ष अवधिको ‘८.५० प्रतिशत आरबिबिएल डिबेञ्चर, २०८३’ मा आवेदन दिने आज (जेठ २८ गते) अन्तिम दिन रहेको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशनमा ल्याएको हो। सोमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी सिङ्गल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा रहेको संकेत गर्दछ ।