रोकिएन शेयर बजारमा करेक्सन, नेप्सेसँगै कारोबार रकममा पनि गिरावट |
काठमाडौं ।साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । सोमबार ४५ अंकको गिरावट आएको बजारमा मंगलबार पनि ११ अंकले घटेको छ ।
यस दिन नेप्से सूचक ११.६८ अंकले घटेर २७७१.१५ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.२३ अंकले घटेर ४९७.३२ विन्दुमा झरेको छ ।
मंगलबार नेप्से सूचक मात्र हैन कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ । सोमबार १३ अर्ब बढीको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम साढे ८ अर्ब रुपैयाँमा सिमित भएको छ । यस दिन २१६ वटा कम्पनीको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार १७ रुपैयाँमा खरिद बिक्री भएको छ ।
घटेको बजारमा पनि यस दिन कालिका पावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने लुम्बिनी विकास बैंकको ८.२५ प्रतिशत, गोर्खाज फाइनान्सको ७.९७ प्रतिशत, समिट लघुवित्तको ७.८७ प्रतिशत, महालक्ष्मी विकास बैंकको ५.४३ प्रतिशत र नेपाल पुनर्बिमा कम्पनीको ४.६२ प्रतिशतले बढेको छ ।
मंगलबार शेयरमुल्य उच्च रुपले घट्ने कम्पनीमा अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन्। यस दिन दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.०२ प्रतिशतले घेको छ भने खानीखोला हाइड्रोपावरको ४.२१ प्रतिशत, जोशी हाइड्रोपावरको ४.१७ प्रतिशत र आँखु खोला हाइड्रोको ४.१२ प्रतिशतले घटेको छ ।