१४ अर्ब रुपैयाँको सेयर कारोबार, नेप्से सूचक भने घट्यो |
काठमाडौं । सेयर बजार सोमबार प्रभावित भएको छ । नेप्से सूचक घटे पनि खरिदबिक्री रकम औसतमा निकै राम्रो छ । १३ अर्ब ९० करोड ९१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार भोल्यूम घटेको भए पनि औसतमा हेर्दा यो निकै उत्साहजनक हो । पछिल्ला दिनहरुमा विशेषगरी, हाइड्रोपावर, विकास बैंक तथा फाइनान्स समूहहरुमा विशेष चमक आएको थियो ।
छोटो समयमा कतिपय कम्पनी र समूहमा भाउ बेस्सरी बढेपछि ट्रेडरहरुले नाफा बुक गरेको अनुमान गरिएको छ । जसका कारण सूचक केही प्रभावित भएको हो । हाम्रो बजारमा पछिल्ला दिनहरुमा ट्रेडरहरु पनि निकै सक्रिय रहेका छन् । अहिले त अझ थोरै नाफामै छिटोछिटो बुक गर्ने प्रवृत्तिसमेत विकास भएको पाइन्छ । सोही आधारमा बजार अलिकति बढेपछि सूचक फेरि तल झर्ने गरेको हो ।
कतिपय विश्लेषक र ट्रेडरहरु भने केही बढेपछि बजार करेक्सन हुन जरुरी हुने बताउँछन् । करेक्सन हुँदै अघि बढेको बजार दिगो, भरपर्दो र बलियो हुने उनीहरुको भनाई रहेको छ । त्यसो त केन्द्रीय बैंक र अर्थ मन्त्रालयले समेत कारोबारी प्रवृत्तिलाई निरुत्साहित गरी दीर्घकालीन लगानीतर्फ उत्प्रेरित गर्न चाहेका छन् ।
सोही अनुसार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई १ वर्षभन्दा कम अवधिका लागि सेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । यस्तै, अर्थ मन्त्रालयले पनि १ वर्ष भन्दा कम अवधिको सेयर कारोबारमा पुँजीगत लाभकरको दर बढाइदिएको छ । यी नियमहरुका कारण दीर्घकालमा सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
सेयर बजार समग्रमा बुल रनमा रहेको छ । दिनहुँ नयाँ लगानीकर्ताहरु बजार प्रवेश गरिरहेका छन् । सहज तरलता, सस्तो ब्याजदर अनि लगानीका अन्य क्षेत्र संकुचित भएकाले पनि सर्वसाधारण सेयर बजारतर्फै आकर्षित भएका हुन् । बजार बढ्दा होस् वा घट्दा आम लगानीकर्ताले जहिले पनि सबल वित्तीय सूचक भएका कम्पनीमा लगानी गर्नुपर्छ ।
सम्बद्ध कम्पनीको नाफा, लाभांश वितरण क्षमता, ब्यवसाय विस्तारको सम्भावना लगायतका महत्वपूर्ण पक्षलाई ख्याल गर्न कहिल्यै पनि बिर्सिनु हुँदैन । खरिदबिक्री रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसको ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रोमा लुम्बिनी विकास बैंक र तेस्रोमा एचआइडीसीएल परेका छन् ।