जेठ २५ गतेदेखि राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशन गर्ने |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले जेठ २५ गतेदेखि ‘८.५० प्रतिशत आरबिबिएल डिबेञ्चर, २०८३’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि ६ वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
सो ऋणपत्र खरिदका लागि छिटोमा जेठ २८ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ८ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी सिङ्गल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा रहेको संकेत गर्दछ ।