करेक्सन भएको सेयर बजारमा नयाँ रेकर्ड, एकै दिन साढे १४ अर्ब माथिको कारोबार |
काठमाडौं । सेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो । साताको अन्तिम कारोबार बिहीबार भने साढे १४ अर्ब रुपैयाँ भन्दा माथिको कारोबार भएर सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको हो ।
मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीइ संस्थाहरुलाई सेयर कारोबारमा कडाइ गरेको थियो । राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । अन्य कम्पनीहरुको सेयर खरिद गर्दा पनि कम्तिमा एक वर्ष होल्ड गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।
राष्ट्र बैंकको यो निर्देशन पछि सेयर बजारलाई नकारात्मक असर पर्ने अनुमान थियो । अनुमान अनुसार नै लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बिहीबार घट्यो । तर धेरै चर्चा भएजस्तो बजार घटेन । दिनभर उचारचढाव अन्तमा झिनो अंकले घटेर बन्द भएको छ । सेयर कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ ।
बिहीबार करिब १५ अर्बको कारोबार हुँदा नेप्से १.२० अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार पनि नेप्सेमा सामान्य करेक्सन भएको थियो। यस दिन पनि नेप्सेले करेक्सनलाई नै निरन्तरता दिएको हो।
यस दिन नेप्से १.२० अंक घटेर २८१५.४० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ। यस दिन २१५ कम्पनीको १ लाख ४७ हजार ४९३ पटकको कारोबारमा १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम हालसम्मकै उच्च हो। यस अघि गत सोमबार १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाएको थियो।
नेप्सेमा सामान्य करेक्सन देखिएपनि यस दिन १९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्किट लेभलमा कारोबार हुनेमा सबै जलविद्युत कम्पनीहरु रहेका छन्। त्यसैगरी, यस दिन शेयरमूल्य ओरालो लाग्ने कम्पनीहरुको शीर्ष स्थानमा लघुवित्त कम्पनीहरु रहेका छन्। राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनको प्रभाव यस दिन शेयर बजारमा देखिएको हो।
यस दिन कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.७२ प्रतिशत बढेको छ भने जलविद्युतको ४.५७ प्रतिशत, विकास बैंकको ३.४३ प्रतिशत र वित्तको २.२८ प्रतिशत बढेको छ। यता लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.४१ प्रतिशत घटेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक १.०८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण काबेली र चिलिमेको ३७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।