आइएमई जनरल इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न बीमा समितिले दियो अनुमति |
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर जारी गर्न बीमा समितिले अनुमति प्रदान गरेको छ । इन्स्योरेन्स कम्पनीले हकप्रद जारी गर्न अनुमति माग्दै बीमा समितिमा निवेदन दिएको थियो । यस अघि कम्पनीको २३ औ वार्षिक साधारणसभाबाट ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको थियो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर जारी गर्ने छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । बीमा समितिबाट अनुमति पाएसँगै कम्पनीले अव नेपाल धितोपत्र बोर्डमा निवेदन दिने छ ।