सिटिजन्स र सिर्जनाले बोलाए विशेष साधारण सभा, एक्विजिशनलाई अन्तिम स्वीकृती दिने |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव विशेष साधारण सभामार्फत पारित गर्दैछन् ।
यी दुबै कम्पनीले एक्विजिशनलाई अन्तिम स्वीकृती दिन जेठ २७ गते विशेष साधारण सभा डाकेका छन्। दुबै कम्पनीले आ–आफ्नो केन्द्रिय कार्यालयमा वेबिनारमार्फत सो सभा सञ्चालन गर्न लागेको हो । दुबैको सभा बिहान ९ बजे शुरु हुनेछ ।
सभाले सिर्जना फाइनान्सको १०० कित्ता बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर दिने गरी शेयर मूल्य अनुपात कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, एक्विजिशनपश्चात सिटिजन्सको पूँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
विशेष साधारण सभा प्रयोजनार्थ सिटिजन्सले जेठ २१ गते एक दिन र सिर्जनाले जेठ १८ गते एक दिन बुकक्लोज गर्ने भएका छन् ।