नेपाल क्लियरिङ्ग हाउसद्वारा ४०% लाभांश दिने घोषणा |
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको नवौं वार्षिक साधारण सभाले ४० प्रतिशत लाभांश घोषणा गरेको छ । सभाले कम्पनीको चुक्ता पुँजी २९.८ करोड रहेकोमा ३८% बोनस सेयर वितरण गरी ४१.१ करोड पुर्याउने निर्णय गरेको हो । साथै बोनस सेयरको कर प्रयोजनका निम्ती २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले पुँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरू स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने साथै नेशनल पेमेन्ट स्विचको कार्यान्वयन पनि गर्ने योजना बनाएको छ ।
आ.व. २०७६∕७७ मा कम्पनीको भुक्तानी कारोबारहरूमा उल्लेख्य रुपमा वृद्धी भएता पनि कम्पनीको खुद नाफा २२.२५ ले घटेको छ । त्यसै गरी कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९% बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८%ले कम रहेको छ ।
कम्पनीको खुद नाफा घट्नुमा भने कम्पनीले सञ्चालन गर्दै आएका धेरैजसो भुक्तानी प्रणालीहरूमा कारोबार शुल्क घटाइएको, २०७६ चैत्र ११ देखि २०७७ असार मसान्त सम्मको पहिलो लकडाउनको चरणमा कारोबार शुल्क पूर्ण रुपमा मिनाहा गरिएको, सरकारी लगायतका निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा रहेको प्रतिस्पर्धा रहेका छन् ।
सभाले कम्पनीको सञ्चालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्ने तीन नयाँ सञ्चालकहरुको निर्विरोध चयन गरेको छ । हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरुको कार्यकाल समाप्त भएसँगै ती पदमा हिमालयन बैंकका जेनरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंकका आइटी प्रमुख सृजन मल्ल निर्वाचित भएका छन् ।
नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरुको ९०% स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीन जना, विकास बैंकका तर्फबाट एक जना र फाइनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जना प्रतिनिधी रहेका छन् ।