१५ र १० वर्षे अवधिको ऋणपत्र विक्री गर्दै दुई बैंक |
काठमाडौं । दुई बैंकले ऋणपत्र विक्री गर्दैछन् । एनएमबि बैंकले जेठ ९ गतेदेखि १५ वर्षे अवधिको उर्जा ऋणपत्र विक्री गर्दैछ भने प्रभु बैंकले जेठ १६ गतेदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने भएको हो ।
एनएमबि बैंकले जेठ ९ गतेदेखि १५ वर्षे अवधिको ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले ४ प्रतिशत ब्याजदरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२÷९३’ नामको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको हो ।
प्रति ऋणपत्र १ हजार रुपैयाँ दरको कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । सर्वसाधारणमा विक्री गर्ने कुल कित्तामध्य पनि बैंकले ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । अब बाँकी ५ लाख ७० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ ।
सार्वजनिक निष्कासनमा आएको ऋणपत्रमा मात्र आवेदन दिन सकिनेछ । आवेदन दिदाँ न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि दिन सकिने व्यवस्था छ । यो ऋणपत्र खरीदका लागि छिटोमा जेठ १२ र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
ऋणपत्र विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेगा शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।
बैंकलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।
त्यस्तै, प्रभु बैंकले जेठ ११ गतेदेखि सर्वसाधारणका लागि १६ लाख ७७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्ने भएको छ । बैंकले सर्वसाधारणका लागि छुट्याएको १६ लाख कित्तामध्य ५ प्रतिशत दरको ८० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएकोमा २ हजार ५०० कित्ता बाँडफाँट गरी बाँकी कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
१० वर्षे अवधिको ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको कुल ४० लाख कित्ता ऋणपत्र बैंकले विक्री गर्न लागेको हो । कुल कित्तामध्य २४ लाख कित्ता भने बैंकले व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई विक्री गर्नेछ । बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आईआर त्रिपल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमानै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम स्तरको रहने संकेत गर्दछ ।
प्रभु बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २६ गतेसम्म ऋणपत्र विक्रीमा रहने बैंकले जानकारी दिएको छ । प्रति ऋणपत्र रू. १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।