सेयर बजारमा अलटाइम हाइ रेकर्ड ː नेप्से ५४.२६ अंक बढ्दा कारोबार रकम १० अर्बभन्दा माथि |
काठमाडौं । आइतबार १० अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार भोलुम पनि अहिलेसम्मकै उच्चतम हो । यसअघि फागुन ३ मा सबैभन्दा बढी १० अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । यसआधारमा नेप्से सूचक र खरिदबिक्री रकम दुवैका आधारमा बजारले नयाँ एतिहासिक उचाई बनाएको देखिन्छ । सेयर बजारमा सिजन सुरु भएसँगै नयाँ माहोल देखिएको हो ।
८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बजार ५४.२६ अंकले बढ्यो । यो २.०२ प्रतिशतको वृद्धिदर हो । बजार २७३८.३५ अंकमा पुगेर रोकिएको छ ।
आइतबार कुल २१४ कम्पनीको १ लाख १३ हजार ६९ वटा कारोबार भएको छ । यी कारोबारमा कुल २ करोड १४ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर किनबेच भएको छ ।
आइतबार सबैजसो परिसूचकमा हरियाली छायो । यसमध्ये निर्जिवन बीमा समूहको परिसूचक सबैभन्दा बढी बढ्यो । त्यसपछि क्रमशː विकास बैक, जिवन बीमा, लगानी समुहको परिसूचकमा वृद्धि भएको छ ।
आज रुरु जलविद्यूत आयोजनाको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भयो । यो कम्पनीका लगानीकर्ताले बढी कमाए ।
यसबाहेक शिखर इन्स्यारेन्स, समता घरेलु लघुवित्त वित्तीय संस्था, सप्तकोशी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स र विशाल बजार कम्पनीका लगानीकर्ताले बढी कमाए ।
आज बढी गुमाउनेमा भने युनियन हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, नारायणी विकास बैंक, घलेम्दी हाइड्रोलगायत रहेका छन् ।