हाम्रो डक्टर एप्समार्फत निःशुल्क कोरोना सम्बन्धी परामर्श |
काठमाडौं । नेपालकै पहिलो अनलाईन हेल्थकेयर प्लेटफर्म हाम्रो डक्टर डटकम र हाम्रो डक्टर मोबाइल एप्लिकेशनले निःशुल्क कोभिड परामर्श सेवा सुरु गरेको छ ।
मोबाइल एप्लिकेशनमार्फत चिकित्सकसँग सशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको एप्सले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले निःशुल्क परामर्श सेवा सुरु गरेको एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी दिए ।
गुगल र एप्पल स्टोरमा उपलब्ध मोबाइल एप्लिकेशनको परामर्श सेक्सनमा गएपछि आउने कोरोना कल्सल्टेशनमा प्रयोगकर्ताले बिना शुल्क चिकित्सकहरुसँग परामर्श गर्न सक्नेछन् ।
एकपटक सुरु गरेपछि सातदिनसम्म प्रयोगकर्ताले चिकित्सकसँग परामर्श लिन, आफ्ना रिपोर्टहरु पठाउन र निगरानीमा रहन सक्नेछन् ।
त्यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेको ठाउँ र मानिसलाई लक्षित गर्दै डाइरेक्ट हटलाईन सेवा पनि सुरु गरेको छ ।
चिकित्सकसँग कोरोना सम्बन्धी जानकारी र परामर्श लिनका लागि हाम्रो डक्टरले तीनवटा हटलाईन नम्बर पनि सार्वजनिक गरेको छ ।
९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरमा सम्पर्क गरि कोरोना भाइरस संक्रमणका बारेमा चिकित्सकसँग जानकारी लिन सकिने छ ।
सन् २०१६ देखि सञ्चालनमा आएको हाम्रो डक्टर एप्सबाट चिकित्सक, अस्पताल, एम्बुलेन्स लगायत सेवाग्राहीका बारेमा जानकारी लिनुका साथै विशेषज्ञ चिकित्सकहरुसँग अनलाईन परामर्श, अस्पतालको टिकट खरिद, हेल्थ प्याकेज खरिद लगायत सेवा लिन सकिन्छ ।