एलआईसी नेपालको नाफा करिब ४३ प्रतिशतले बढ्यो |
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३१.८० प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ४ अर्ब ११ करोड ८१ लाख रुपैयाँ, पुनर्बीमा कमिशन बापत १ करोड ८ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १ अर्ब ९ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा इन्स्योरेन्सको खुद नाफा पनि ४२.८५ प्रतिशतले बढेर १५ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १० करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्सको खुद नाफा बीमांकिय मुल्यांकनपछि फरक पर्न सक्छ ।
चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड १४ लाख, जीवन बीमा कोषमा ७७ अर्ब ५४ करोड २८ लाख रुपैयाँ सञ्चित छ ।
इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ २७ पैसा, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात ३४०.६२ गुणा छ ।
कुल ७ लाख १६ हजार ३६२ वटा बीमालेख कायम रहेको इन्स्योरेन्सले १३ अर्ब ६६ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १३ हजार ६३१ वटा दाबी बापत ६ अर्ब १६ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २१ करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।