एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क एक अर्ब नजिक, खुद नाफा पनि ३५ प्रतिशतले बढ्यो |
काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.२२ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ३६.२६ प्रतिशतले बढेर ८५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ६२ करोड ६५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशनबाट २२ करोड ५४ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यआयबाट ७ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब ९ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड २८ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २७ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ४ करोड १२ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ७८ पैसा र मूल्य आम्दानी अनुपात ४४.९४ गुणा बढी छ ।
यस अवधिमा इन्स्योरेन्सले १ लाख ६८ हजार २२८ वटा बीमालेख जारी गरी कुल १ अर्ब ६९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
इन्स्योरेन्सले यस अवधिमा ६ हजार १९४ वटा दाबी बापत १ अर्ब ७ करोड ७६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६ हजार १३० वटा दाबी बापत ९८ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।