मुम्बईमा पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्सको आकस्मिक अवतरण |
काठमाडौं । भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतरण गरेको छ । नागपुरबाट उडान भरेपछि पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स विहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो ।
एयर एम्बुलेन्समा दुईजना क्रु मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए ।
स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो । प्राविधिक समस्या आएपछि क्याप्टेनले फूल इमरजेन्सी घोषणा गरेका थिए ।
सो जहाजलाई बिहीबार राति भारतीय समयअनुसार ९ बजेर ९ मिनेटमा मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा बेली–ल्याण्डिङ गराइएको थियो । नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले यस घटनाको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।
आकस्मिक अवतरणको क्रममा विमानमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको थियो । साथै उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । त्यसपछि सफलतापूर्वक विमानलाई अवतरण गराइएको बीबीसीले जनाएको छ । सो एयर एम्बुलेन्समा रहेका विरामीलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।
आकस्मिक अवतरणको क्रममा केहीबेर मुम्बई एयरपोर्टमा अन्य उडान–अवतरण बन्द गरिएको थियो ।
यसैबीच रेम्डिसिभिर औषधि बोकेको मध्यप्रदेश सरकारको एउटा सानो विमान ग्वालियर एयरपोर्टमा दुर्घटना हुँदा दुई पालटसहित तीनजना घाइते भएका छन् । विहीबार राति ८ः५० बजे रनवेमा चिप्लिएर जहाज दुर्घटना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।