देशभर निषेधाज्ञाका कारण डेढ लाख सार्वजनिक यातायातका साधन प्रभावित | उड्ने र गुड्ने बीच विभेद गरिएको गुनासो
काठमाडौं । बिहीबार बिहानदेखि लागू गरिएको निषेधाज्ञाका कारण झण्डै डेढ लाख सार्वजनिक सवारी साधन प्रभावित भएका छन् । उपत्यकासहित मुलुकका मुख्य मुख्य सहरमा निषेधाज्ञा लागू भएसँगै यात्रुवाहक सार्वजनिक यातायातका साधनहरु प्रभावित हुन पुगेका हुन् ।
नेपाल सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार निषेधाज्ञाका कारण मुलुक भरबाट झण्डै डेढ लाख कालो नम्बर प्लेट धारी सार्वजनिक यातायातहरू प्रभावित हुन पुगेका छन् । जसका कारण लाखौं मजदुरसहित प्रत्यक्ष तथा परोक्षरुपमा ४ लाख घर परिवार समेत प्रभावित हुनपुगेको महासंघको भनाइ छ ।
निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधनहरु बन्द भइरहँदा हवाई सेवाहरु भने निर्वाध सञ्चालन भइरहेका छन् । जसका कारण सार्वजनिक यातायात भन्दा पनि यतिखेर हवाइ उडान र एअरपोर्टमा सर्वसाधारण यात्रुहरूको भीड लागेको छ ।
त्यसो त बुधबार मात्र अधिकतम १४८ फ्लाइट मार्फत झण्डै १७ हजार यात्रुले यात्रा गरेको त्रिभूवन विमानस्थल (टीआईए) ले जनाएको छ । जुन हवाई यात्राको चाप यतिखेर निषेधाज्ञाको समयमा जारी रहेको छ ।
सरकारले सार्वजनिक यातायातका साधनहरुलाई बन्द गर्ने र हवाई यातायातलाई भने खुल्ला राख्ने नीति लिएसँगै व्यवसायीहरु आक्रोशित भएका छन् । उड्ने र गुड्ने बीच नसुहाउँदो विभेद गरिएको भन्दै यातायात व्यवसायीहरुले अविलम्ब यस्तो विभेदकारी नीतिको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।