बैंक अफ काठमाण्डूको नाफा ३३.८७ प्रतिशतले बढ्यो |
काठमाडौं । बैंक अफ काठमाण्डूले खुद ब्याज आम्दानी घट्दा पनि नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३३ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ८७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ३३.८७ प्रतिशतले धेरै हो ।
बैंकको खुद ब्याज आम्दानी घट्दा पनि अन्य स्रोतमार्फ हुने आम्दानीले बैंकको नाफा बढ्न सहयोग पुगेको हो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८ प्रतिशतले घटेर २ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ३५ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा भने ९ करोड रुपैयाँले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ८५ करोड रुपैयाँ पुगेको छ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ४ प्रतिशतभन्दा धेरैले बढेको छ। कर्जा लगानी पनि २२ प्रतिशतले बढेको छ।
हाल ९ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ५ अर्ब ४१ करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी पनि १३ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ।