स्वास्थ्यकर्मीलाई बिदा नदिने सरकारको निर्णय |

काठमाडौं । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने बिरामीको उचित एवम् प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयको मंगलबार बसेको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पनि पत्राचार गर्ने गरेको छ ।
यस्तै कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने निर्णय पनि भएको छ ।
यस्तै अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइनेछ ।
स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय
सरकारले स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली पनि लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुमध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारिण गरी सेवा दिने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको हो ।
यस्तै उपलब्ध स्वास्थ्य श्यैया, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संखया आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय पनि मन्त्रालयले जनाएको छ । तर आकस्मिक उपचार भने सुनिस्चित गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बैठकले सघन उपचार तथा आकस्मिक उपचार सम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।