स्वाभिमान लघुवित्तको नाफा २११.७१ प्रतिशतले बढ्यो |
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ ।
लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २११.७१ प्रतिशत बढी हो ।
खुद ब्याज आम्दानी सामान्य बढेपनि सम्भावित जोखिम बापतको व्यवस्थामा कुनै रकम नछुट्याएको र खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा बढेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.२५ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३६.४० प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा २७३.८९ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गरेको लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा बढेर ९ करोड २० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको जगेडा कोष सो अवधिमा १६५.५९ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा लघुवित्तको सापटी ७८.३८ प्रतिशत, निक्षेप ३१.१० प्रतिशत र कर्जा ४८.३८ प्रतिशत बढेको छ ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ २६ पैसा बढेको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ६६ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात ४५.३९ गुणा रहेको छ ।
त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.५९ प्रतिशतविन्दु घटेर १.२५ प्रतिशत पुगेको छ ।