करिब २ गुणा बढ्यो स्वरोजगारको नाफा |
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ ।
लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ११ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २ गुणा अर्थात ९१.६९ प्रतिशत बढी हो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेपनि खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा करिब २ गुणा बढेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.५४ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी २४.८० प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ४२.३४ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २०.३९ प्रतिशत बढेको छ । भने जगेडा कोष ६०.३७ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी ७०.९१ प्रतिशत, निक्षेप ४४.१६ प्रतिशत र कर्जा ५५.५३ प्रतिशत बढेको छ ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५८ पैसा बढेर ३६ रुपैयाँ ५२ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ १९ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात ४०.८८ गुणा रहेको छ ।
त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.०२ प्रतिशतविन्दु बढेर २.७५ प्रतिशत पुगेको छ ।