इन्फिनिटी लघुवित्त खुद नाफा १८६.३० प्रतिशतले बढ्यो |
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य प्रगति गरेको देखिन्छ ।
लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८६.३० प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी बढेसँगै अन्य आम्दानी बढेको र खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८६.१५ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ६४.६० प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा १६३.२४ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा लघुवित्तले १ करोड ३३ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।
गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेको लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा बढेर २६ करोड ६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको जगेडा कोष सो अवधिमा ११४.६२ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा लघुवित्तको सापटी ९९.२७ प्रतिशत, निक्षेप ३४.०१ प्रतिशत र कर्जा ६८.७६ प्रतिशत बढेको छ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ १९ पैसा बढेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात २८.८५ गुणा रहेको छ।