लक्ष्मी लघुवित्तको खुद नाफा ५९.४३ प्रतिशतले बढ्यो |
काठमाडौं । लक्ष्मी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ रुपैयाँ ३० पैसा बढेको छ ।
चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ६५ रुपैयाँ ६९ पैसा पुगेको छ । समीक्षा अवधिमा चुक्ता पूँजीको तुलनामा खुद नाफा उल्लेख्य बढेका कारण प्रतिशेयर आम्दानी बढेको हो । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३१.७५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ५ पैसा रहेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९.४३ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५९.९८ प्रतिशत बढेको छ।
१५ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी ३२ करोड रुपैयाँ पुर्याएको यस लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा २०.६५ प्रतिशत बढेको छ। त्यसैगर, लघुवित्तको सापटी ४४.४२ प्रतिशत, निक्षेप ३४.८२ प्रतिशत र कर्जा ३८.६६ प्रतिशत बढेको छ।
कर्जासँगै लघुवित्तको निष्क्रिय कर्जा पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.४४ प्रतिशतविन्दु बढेर ३.१४ प्रतिशत पुगेको छ।