हालै मात्र आईपीओ निष्काशन गरेको ज्योति लाइफको खुद नाफा ४.८९ प्रतिशतले बढ्यो |
काठमाडौं । हालै मात्र सर्वसाधारणमा आईपीओ निष्काशन गरी दोस्रो बजारमा कारोबार शुरु गरेको ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा ४.८९ प्रतिशत बढेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
चैत मसान्तसम्ममा इन्स्योरेन्सले २ अर्ब २१ करोड ८ लाख रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.९७ प्रतिशत बढी हो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी ४२.८६ प्रतिशत बढेको छ भने जगेडा कोष ६०.५८ प्रतिशत, बीमा कोष १४८.९५ प्रतिशत र महाविपत्ती कोष ६०.५८ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा इन्स्योरेन्सले बीमालेख धितोबापत ४४ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको ८३ हजार १६७ बीमालेखबापत ५ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले २२८ दाबी बापत १० करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७०.२२ गुणा रहेको छ । त्यसैगरी, इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ३३ पैसा रहेको छ ।