ज्योति विकास बैंकको खुद नाफा ३८.१९ प्रतिशतले बढ्यो |
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ भने खुद नाफा बढेको छ ।
समीक्षा अवधिमा बैंकको खुद नाफा ३८.१९ प्रतिशत बढेर ६० करोड २५ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ६.३३ प्रतिशत घटेर १ अर्ब १ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। खुद ब्याज आम्दानी घटेपनि नेट फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न टेवा पुगेको हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३८.२४ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ३१ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ९ करोड ५४ लाख रुपैयाँ मात्र थियो ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १६ रुपैयाँ ६३ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ रुपैयाँ २६ पैसा बढेर २० रुपैयाँ ८९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २७.८० प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप २४.८० प्रतिशत बढेको छ भने कर्जा ३३.०४ प्रतिशत बढेको छ ।