अरुण भ्यालीको हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुला |
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (बैशाख ६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्नेछ ।
हकप्रद निष्काशनका लागि कम्पनीले चैत ९ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार चैत ८ गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत बैशाख २६ गतेसम्म आवेदन दिन पाउनेछन् ।
हकप्रद शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
हाल १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० रुपैयाँ पुग्नेछ ।