आरम्भ चौतारीले ८.८५ % लाभांश बाड्ने, अध्यक्षमा पुनː पोखरेल निर्विरोध निर्वाचित |
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
संस्थाको पाँचौ वार्षिक साधारण सभाले गत आव २०७६∕०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल कम्पनीको चुक्तापूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए ।
साधारण सभाले बनेपास्थित बिपिडब्लू लघुवित्त र बुुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुुपात १०० ː ९५ ː ९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ । हाल उक्त कम्पनीको शेयर स्वामित्व अनुपात ६३ दशमलव ६५ प्रतिशत (संस्थापक) र ३६ दशमलव ३५ प्रतिशत (सर्वसाधारण) रहेको छ ।
दुुबै संस्था प्राप्ती पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा शेयर स्वामित्व अनुपात ६८ दशमलव ३० प्रतिशत (संस्थापक) र ३१ दशमलव ३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्तावसमेत पारित भएको घिमिरेले जानकारी दिए ।
उनका अनुसार भविष्यमा थप कुनै लघुवित्त संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति∕समाहित गर्ने बिषयमा सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि साधारण सभाले गरेको छ ।
साधारण सभाले संस्थापक अध्यक्ष जगत पोखरेलसहित ६ जनालाई नयाँ संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
संस्थापक समूह क बाट प्रतिनिधित्व हुने सञ्चालक चार जना र सर्वसाधारण समूह ख बाट प्रतिनिधित्व हुने गरी संचालक दुई जनाको पदावधि समाप्त भएको भन्दै निर्वाचन अधिकृत भक्तिराम घिमिरेले निर्बिरोध निर्वाचित भएको घोषण गरेका थिए ।
त्यस अनुसार संस्थापक समूह क बाट जगत बहादुर पोखरेल, दिपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरेल सञ्चालक समितिमा निर्वाचित भएका हुन भने सर्वसाधारण समूह ख बाट केशवराज पन्थी र विमल आचार्य चयन भएका थिए ।
संचालकहरुको पहिलो बैठकले संस्थाका संस्थापक अध्यक्ष जगत बहादुर पोखरेललाई नै चार बर्षका लागि फेरि अध्यक्षमा चयन गरेको छ । उनले आफ्नो कार्यकालमा आरम्भ चौतारी लघुवित्तलाई देशकै सवैभन्दा ठूलो लघुवित्त वित्तिय संस्था बनाउने अठोट व्यक्त गरेका थिए ।
देशभरका लघुवित्त वित्तिय संस्थाहरुको साझा संस्था लघुवित्त संघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका भएका पोखरेलले आफुले नेतृत्व गरेको लघुवित्त वित्तिय संस्थालाई लघुवित्त क्षेत्रका लागि उदाहरणीय संस्थाको रुपमा स्थापित गर्नुपर्ने दायित्व समेत आफुसँग रहेको बताए ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त मर्ज भएर आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था बनेको हो । एकिकृत संस्थाले गत असार २२ देखि एकीकृत कारोबार सुरु गरेको थियो ।
नेपाल राष्ट्र बैंकले उनीहरुलाई एकिकृत कारोवार सुरु गर्न २०७६ सालको फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो ।