आइतबारदेखि नेपालगञ्जका विद्यालय एक साता बन्द गर्ने निर्णय |

काठमाडौं । कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाका प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।
एकाएक संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए ।
बाँकेमा बुधबार एकैदिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजानेसमेत निर्णय गरेको छ ।