नेप्से नयाँ उचाईमा, कारोबार रकम ७ अर्ब ६१ करोड |
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से नयाँ उचाइमा पुगेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २.७४ अंक बढेर २६७४.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन १७.२० अंक बढेर २६९१.५५ विन्दुमा बन्द भएको छ ।
यो हालसम्मकै उच्च विन्दु हो । यस अघि नेप्सेले गत साताको मंगलबार २६७४.४७ विन्दुमा पुगि नयाँ अलटाइम हाइ बनाएको थियो । यस दिन नेप्सेले सो अलटाइम हाइलाई तोड्दै नयाँ अलटाइम हाइ बनाएको हो ।
यस दिन नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । यस दिन बजारमा २१६ कम्पनीको ८० हजार ९५९ पटकको कारोबारमा ७ अर्ब ६१ करोड ८ लाख २८ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् ।
यस दिन कारोबारमा आएका ५ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमबार एनआईसी एशिया लघुवित्त, महिला लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंकको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
यस दिन अधिकांश जलविद्युत कम्पनीहरुको शेयरमूल्य घटेको छ । सर्वाधिक शेयरमूल्य घटेका १० कम्पनीहरुको सूचीमा ८ जलविद्युत कम्पनीहरु रहेका छन् । जसमध्ये साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ४.४१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक लिमिटेड अगाडि रहेको छ । सो बैंकको यस दिन २५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल बैंकको २० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ६ उपसमूहको परिसूचक घटेका छन् । यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.६४ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएका व्यापार, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहका परिसूचक भने यस दिन १ प्रतिशतभन्दा बढी घटेका छन् ।