रु रु जलविद्युतको आईपीओ आजदेखि खुला |
काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले आज (चैत २० गते) देखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्दैछ ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो शेयर खरिदका लागि चैत २४ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा बैशाख ३ गतेसम्म म्याद थप गरिनेछ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ । स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।