सिंगटी हाइड्रोपावरको आइपीओ बाँडफाँट अर्को साता |
काठमाडौं । सिंगटी हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओको बाँडफाँट अर्को साता मात्रै हुने भएको छ । अर्को साता बुधबारसम्ममा आइपीओको प्रि अलटमेन्ट सक्ने र शुक्रबार बाँडफाँट गर्ने योजना क्यापिटलको रहेको छ ।
सिडिएससिको सिस्टममा समस्या आएको कारण बाँडफाँट पछाडि धकेलिएको मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविर बादे बताउछन् । “सबै डाटाहरु सिडिएससिकै सिस्टमबाट लिनुपर्ने हुन्छ । त्यसमा समस्या आउदा बाँडफाँट केहि पछाडि धकेलिएको हो,“ उनले भने, “अर्को साताको बुधबारसम्म्मा प्रि अलटमेन्ट सकेर शुक्रबारसम्ममा बाँडफाँड गर्ने योजना रहेको छ ।“
अर्को सातासम्म पनि सिस्टममा समस्या आइरहेमा आइपीओको बाँडफाँड अझै पर धकेलिनसक्ने उनी बताउछन् ।
कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो जसमा५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाउने व्यवस्था थियो ।
कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९।१६ गुणा भन्दा धेरै हो ।