तीन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज सोमवार अन्तिम दिन |
काठमाडौं । सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत १६ गते (सोमवार) अन्तिम दिन रहेको छ । नेपाल इन्स्योरेन्स, ग्रीन डेभलपमेण्ट बैंक र मिथिला लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश सोमवार सम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका हुन ।
यी कम्पनीले प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारित गर्न साधारण सभाको मिति तय गरिसकेका छन् । उक्त साधारण सभा प्रयोजनका लागि चैत १७ गतेदेखि बुक क्लोज गर्ने भएकाले चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन ।
नेपाल इन्स्योेरेन्सले चैत २७ गते ७२औं वार्षिक साधारण सभा बोलाएको छ । एयरपोर्ट होटल, सिनामङ्गल, काठमाडौंमा विहान ११ बजेका लागि सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७६∕७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित कुल १० प्रतिशत लाभांशलाई पनि अन्तिम रुप दिनेछ ।
यस वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयर प्रयोजनका लागि कर समेत २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ३ लाख १३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । ८ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड २३ लाख ३८ हजार पुग्ने भएकाले सोही बमोजिम हुने गरी जारी तथा चुक्तापूँजी सम्बन्धी व्यवस्था संशोधन समेत सभाले गर्नेछ । कम्पनीले संस्थापक शेयरधनीहरुको तर्फबाट एक जना सञ्चालक पदमा विशाल मिनरल्स एण्ड फाइन्स प्रा.लि का प्रतिनिधि बिष्णु खेतान अग्रवाललाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेकाले सो समेत सभाले अनुमोदन गर्नेछ ।
त्यस्तै ग्रीन डेभलपमेण्ट बैंकले चैत २८ गते आठौं वार्षिक साधारण सभा गर्ने मिति तय गरेको छ । कम्पनीले यस वर्ष ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस अघि ५ दशमलव १० प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश परिमार्जन गरेको हो । कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६∕७७ सम्मको वितरणयोग्य नाफा र शेयर प्रिमियम वापतको रकमबाट ४ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
परिमार्जन गरिएको लाभांश अनुसार अब कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांशसँगै शेयर प्रिमियम वापतको रकमबाट १ प्रतिशत बोनस शेयर वितरण गर्नेछ । कम्पनीले कुल ३ दशमलव ८० प्रतिशत बोनस शेयर र शून्य दशमलव २० प्रतिशत नगद लाभांश गरी ४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले भने प्रस्तावित कुल १२ दशमलव ६३ प्रतिशत लाभांश चैत २९ गते पारित गर्नेछ । कम्पनीले उक्त दिन १२औं वार्षिक साधारण सभा बोलाएको हो । गत आर्थिक वर्ष ०७६∕७७ को सञ्चित मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनीको हाल रू. १२ करोड १७ लाख ४० हजार चुक्तापूँजी रहेको छ ।