टेलिकमको साधारणसभाबाट लाभांश पारित |
काठमाडौं । नेपाल टेलिकमको तेह्रौँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६∕७७ को नाफाबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई दिने नगद लाभांश प्रस्ताव पारित गरेको छ । नगद लाभांश आजदेखि एनएमबि बैंकमार्फत शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
साधारणसभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो। उक्त सभाले आर्थिक वर्ष २०७६∕७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।
महालेखा परीक्षक कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आगामी आर्थिक वर्ष २०७७∕७८को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाशजंग थापा र पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।
सञ्चालकका रुपमा अम्बिका प्रसाद पौडेल निर्विरोध रुपमा निर्वाचित भएकोमा साधारणसभाले अनुमोदन गरेको छ ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको तेह्रौं वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
प्रतिवेदन प्रस्तुत गर्दै उनले कोभिड–१९ को प्रभावको कारण तोकिएको समयभन्दा केही पछाडि वार्षिक साधारणसभा गर्नुपरेको बताए । आकर्षक प्रतिफल उपलब्ध गराउन र कम्पनीको वित्तीय स्थिति मजबुत बनाउन सञ्चालक समिति सधैँ प्रतिबद्ध रहँदै आएको उनको भनाइ छ ।
अध्यक्ष बस्यालले भने ‘कम्पनीको कुल आयको ५० प्रतिशतभन्दा अधिक हिस्सा आयकर, मूल्य अभिवृद्धि कर, सेवा शुल्क, रोयल्टी, लाभांश लगायत शीर्षकमा राज्यको ढुकुटीमा जम्मा हुँदै आएको छ ।’
लकडाउन अवधिमा कम्पनीले टपअपमा प्रदान गरेको शत प्रतिशत वोनस, जिरो व्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीको तर्फबाट २ करोड गरी जम्मा १२ करोड योगदान गरेको उनले बताए।
यसका साथै आर्थिक वर्ष २०७६÷७७ मा कर तथा गैह्रकर वापत सरकारी राजस्वमा कम्पनीले ३५ अर्ब ५ करोड योगदान गर्न सफल भएको छ।
कम्पनीले तुलनात्मक रुपमा लाभ नहुने विकट क्षेत्रमा समेत स्याटेलाइट र अन्य प्रविधिको माध्यमबाट सेवा उपलब्ध गराइरहेको उनले बताए।
विश्वबजारमा उपलब्ध अत्याधुनिक दूरसञ्चार प्रविधि भित्र्याउनुका साथै मुलुकमा विद्यमान मुद्रास्फितिका बाबजुद आकर्षक महशुल दरमा कम्पनीले सेवा उपलब्ध गराउँदै आएको उनको भनाइ छ।
महामारीको अवस्थामा मुलुकको शैक्षिक सत्रलाई पार्नसक्ने प्रभावलाई न्यूनीकरण गरी शैक्षिक संस्थाहरूमा किफायती मूल्यमा वैकल्पिक शिक्षा प्रणाली अगाडि बढाउन नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक र पाठशाला सीयूजी सिम उपलब्ध गराएको छ। यसले विद्यार्थीहरुको पठनपाठनमा निकै सहयोग पुगेको अध्यक्ष बस्यालको भनाइ छ।
कम्पनीले आधारभूत टेलिफोन, जीएसएम मोबाइल, सीडीएमए प्रविधिमार्फत भ्वाइस सेवा र एडीएसएल, लिज्ड लाइन, टुजी, थ्रीजी, फोरजी÷एलटीई, वाइम्याक्स, एफटीटीएच प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ।
आ.व. २०७६÷७७ को अन्तसम्ममा भ्वाइस सेवाको ग्राहक आधार करिब २ करोड पुगेको छ। त्यस्तै इन्टरनेट सेवाको ग्राहक आधार ९.९३ प्रतिशतले वृद्धि भई करिब १ करोड ५० लाख पुगेको छ। कम्पनीको भ्वाइस र इन्टरनेट सेवाको बजार हिस्सा क्रमशः ५२.६९ र ४८.६८ प्रतिशत पुगेको उनले जानकारी दिए।
अनेकौं चुनौती एवं जोखिमका बाबजुद आ.व. २०७६÷७७ मा कुल राजस्व र खुद नाफा क्रमशः ४२ अर्ब ९९ करोड र ९ अर्ब ७५ करोड कायम गर्न कम्पनी सफल भएको बताउँदै उनले सेवाको गुणस्तर स्तरोन्नती, ग्राहकवर्गको अपेक्षा सम्बोधन तथा प्रतिस्पर्धी मूल्यमा सेवा प्रवाह गर्न सदैव तत्पर रहेको बताए।
इन्टरनेट सेवामा आधारित दूरसञ्चार सेवा विस्तार गरी कम्पनीको राजस्व वृद्धि गर्न वायरलेस प्रविधिको फोरजी÷एलटीई मोबाइल सेवाको विस्तार, एफटीटीएच सेवाको विस्तार, अन्तर्राष्ट्रिय रोमिङ सेवाको विस्तार एवं सेवाहरूको गुणस्तर सुधार लगायतका कार्यहरूमा स्रोत÷साधन केन्द्रीकृत गरेको उनले बताए।
राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा कम्पनीले मोबाइल फाइनान्सियल सर्भिस प्रदान गर्न आफ्नो सहायक कम्पनीको रूपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड स्थापना गरेको छ।
कम्पनीको एफटीटीएच प्रविधिमा आधारित आइपीटीभी सेवा एनटीटीभी ब्राण्डमा उपलब्ध भइसकेको सन्दर्भमा एउटै तारबाट भ्वाइस, इन्टरनेट तथा टिभी उपलब्ध हुने भएकाले कम्पनीको व्यावसायिक जीवनमा उक्त सेवा कोसेढुङ्गा सावित हुने विश्वास लिएको अध्यक्ष बस्यालले बताए।