शे-फोक्सुन्डो तालमा वर्ल्डलिंकको निःशुल्क वाइफाइ सेवा |

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले डोल्पाको शे-फोक्सुन्डो तालमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराएको छ । ‘सबैलाई जहाँ पनि, जहिले पनि जोड्ने’ आफ्नो मुख्य उद्देश्य लाई अनुसरण गर्दै शे-फोक्सुन्डो तालमा ८ चैतबाट निःशुल्क वाइफाइ सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले निःशुल्क वाइफाइ सेवाको शुभारम्भ गरेका थिए ।
वाइफाइ सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्राकृतिक सुन्दराताले भरिपूर्ण तथा निकै सम्भावना बोकेको प्रदेश रहेको भन्दै विश्व बजारमा पहिचान गराउन सके मात्रै पनि प्रदेशको विकासमा कायपलट हुने बताए । प्रदेशमा उपलब्ध श्रोत साधनलाई विश्व वजारमा पुर्याउने माध्यम सूचाना प्रविधि रहेको भन्दै उनले विकट स्थानमा बसोवास गरेका जनतालाई विश्वसमुदाय समक्ष जोडन सूचना र प्रविधि महत्वपूर्ण हुने बताए । नाफा मुलक सेवाको सम्भावना कम भएकोले अन्य सेवा प्रदायकहरुको कम चासो रहेका वेला सेवामुलक कार्यमा वर्ल्डलिंकले देखाएको अग्रसरताले सूचनाबाट कुनै पनि पर्यटक आफन्त, घर परिवार, साथीभाइसँग जोडिने तथा सम्पर्क विच्छेद नहुने हुनाले पर्यटकको रोजाइ बन्नेमा आफू विश्वस्त रहेको तथ्याङक रारा महोत्सवले स्पष्ट पारेको मुख्यमन्त्री शाहीको भनाइ थियो ।
कर्णाली प्रदेशले कर्णाली पर्यटन वर्ष घोषणा गर्दा रारा तालबाट प्रधानमन्त्रीले वर्ल्डलिंकले प्रदान गरेको निःशुल्क इन्टरनेट सेवाबाटै पर्यटन वर्षको उदघाटन भएकोमा आजसम्म रारा जाने पर्यटकका लागि सूचनाको पहुँच पुगेको स्मरण गर्दै उनले सेवालाई गुणस्तरीय बनाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।
शुभारम्भ कार्यक्रममा वर्ल्डलिंकका अध्यक्ष अग्रवालले नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण हुने भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प नभएको बताए । गाँस, बास र कपाससँगै आजको युगमा सूचना प्रविधि पनि जोडिएको भन्दै उनले इन्टरनेटको प्रयोगले हामी हाम्रो जीवनलाई परिवर्तन गर्न सकिने बताए ।
सूचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञानहासिल गर्ने माध्यम बन्न सक्ने भन्दै उनले जुन स्थानमा बाटो घाटो, अस्पतालको अभाव छ सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुन सक्ने बताए । आफू डाक्टर नभए पनि इन्टरनेटबाटै एकजना विमारीका लागि आफनो डाक्टर साथीसँगको सल्लाहले विमारीको उपचार फोक्सुण्डोमै गरेको अनुभव सुनाउँदै उनले उच्च गतिको इन्टरनेटका लागि वर्ल्डलिंकले डोल्पा जिल्लासम्म फाइबर विस्तार गर्न तयार रहेको तर त्यसका लागि सरकारले पूर्वाधारको विकास विस्तार गर्नुपर्ने बताए । फोक्सुण्डोसम्म इन्टरनेट पुर्याउन वर्ल्डलिंकले विभिन्न ११ स्थानमा टावर जडान गरेका भन्दै अध्यक्ष अग्रवालले भने, ‘अव हामी फाइवर जडानको लागि योजना तयार गर्छौं ।’
शुभारम्भ कार्यक्रममा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल, शे फोक्सुन्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामा, शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्र बहादुर घर्ती लगायतको उपस्थिति रहेको थियो ।