भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।
सोही अवधिमा अरु २२ हजार ९५६ जना भने सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा बृद्धि हुँदै गएको छ ।
भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख ९९ हजार १३० पुगेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भारतमा एक लाख ५९ हजार ७५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ती मध्ये १९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सोही अवधिमा पन्जाबमा मात्रै एक हजार ५२९ जना सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म चार करोड ४६ लाख ३ हजार ८४१ खोप लगाइएको छ । शनिबारसम्म देशभरी २३ करोड ३५ लाख ६५ हजार ११९ जनाको कोरोना परीक्षण गरिएको छ ।
मध्यप्रदेशका तीन शहरमा आजदेखि लकडाउन
कोरोनाभाइरसको दोस्रो लहरबीच मध्यप्रदेशका तीन शहर भोपाल, इन्दौर र जबलपुरमा पहिलो लकडाउन सुरु भएको छ । आइतबार अस्पताल र मेडिकल छाडेर सबै पसल बन्द गरिएको छ । बिहानमात्र दुध आपूर्ति गर्ने सवारीलाई छुट दिइएको थियो । प्रहरी सडकमा तैनाथ रहेका छन् भने ठाउँ–ठाउँमा ब्यारिकेड लगाइएको छ ।
बिहान ९ बजेसम्म मानिसहरुको आवतजावत नरोकिएपछि प्रहरी कडाइ सुरु गरेको थियो । सोधपुछपछि अनुमति प्राप्तहरुलाई मात्र जान दिइएको थियो । विमानस्थल र रेलवे जानेहरुले दुई गुणा बढी भाडा तिर्नुपरेको थियो । इन्दौरको रियल चोकमा काम बिना सडकमा निस्कनेहरूलाई प्रहरीले पिटिरहेको तस्विरहरू सार्वजनिक भएका छन् ।
यता, भोपालमा शनिबार रातिदेखि नै लकडाउन सुरु भएको थियो । आइतबार त्यहाँ पनि अस्पताल र मेडिकलबाहेक सबै पसल बन्द रहेका थिए । लकडाउनका दौरान धारा १८८ लागू गरिएको छ । अर्थात् बिना कारण घरबाट निस्कनेलाई पक्राउ गर्ने अनुमति दिइएको छ ।
जबलपुरमा लकडाउनमा कडाइ गर्दै ३४ वटा चेकप्वाइन्ट स्थापना गरिएको छ । सडकमा १५ सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
–एएनआई