४० वर्षपछि भारतबाट जेलमुक्त भए इलामका दुर्गाप्रसाद |
काठमाण्डौ । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा धेरै समयदेखि भारतको कारागारमा थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक) जेलमुक्त भएका छन् ।
माई नगरपालिका–१० लुम्बाकका तिम्सिना सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । उनी माथिको आरोप प्रमाणित भने भएको छैन । दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।
उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार आदेश दिएको थियो । नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि कोलकाताको दमदम कारागारले मुक्त गर्ने प्रक्रिया शुरु गरेर आज जेलमुक्त गरेको हो ।
भाइ प्रकाशचन्द्र र कोलाकातामा रहेको नेपाली महावाणिज्य दूतका निजी सचिव सतिश थापाको रोहबरमा दुर्गाप्रसादलाई कारागारमुक्त गरेको हो । मुद्दा दर्ता भए पनि प्रहरीले अदालतको सुनुवाइ बिना नै दुर्गाप्रसाद तिम्सिनालाई जेलमा राखेको हो ।
लामो समयपछि जेलमुक्त भएसँगै दीपक घर फर्कन लागेपछि उनको परिवारमा खुशी छाएको छ । परिवारमा मात्र होइन गाउँमा नै एकप्रकारको उल्लास छाएको छ ।
सन् १९८० मा भारतको दार्जिलिङमा पक्राउ परेयता मुद्दाको ‘ट्रायल’बिना नै जेल जीवन बिताइरहेका उनलाई शनिबार आफन्तको जिम्मा लगाइएको भतिज गोपाल तिम्सिनाले बताए । उनलाई भारतमा रहेको नेपाली दूतावासकै गाडीमा झापाको काँकडभिट्टासम्म ल्याइनेछ । आइतबार दीपकका कान्छो भाइ धर्मानन्द र भतिज गोपाल उनलाई लिन काँकरभिट्टा जाँदै छन् ।
वि.स. २०१७ सालमा जन्मिएका दीपक रोजगारीका शिलशिलामा १९ वर्षको उमेरमा भारत गए । भारतमा गएर कमाउँला, परिवारलाई खुशी दिउँला, आफ्नो भविष्य राम्रो बनाउँला भन्ने उनको सपना थियो । तर कारागारका कठोर भित्तामा गएर ठोक्किन पुग्यो उनको सपना । दार्जिलिङमा हत्या आरोपमा समातिएका उहाँलाई भारतका विभिन्न जेलमा राखियो । त्यसबारे परिवारलाई कहीँ कतैबाट पनि जानकारी मिलेन । परिवारलाई थाहा नै थिएन, छोरो कहाँ गयो भन्ने । घर परिवार, गाउँमा मरिसके भन्ने हल्ला समेत फैलियो ।
विगत ४० वर्षसम्म यही भ्रममै बितिरहेका थिए इलाममा दीपकको परिवारका दिन । यसैबीच एकाएक आशाको दियो जल्यो ।
गोपाल तिम्सिनाका अनुसार, अर्कै मुद्दामा पक्राउ परेका र १० वर्ष ‘दमदम करेक्सनल होम’ मै कैद सजाय भुक्तान गरेर छुट्नु भएका भारतीय नागरिक राधेश्याम दासले यो घटना बाहिर ल्याएका हुन् । त्यसपछि मात्र दीपकबारे थाहा भएको हो । दासले आफू थुनामा रहँदा दीपकलाई भेटेको र उनले घर इलाम बताएको आधारमा यो कुरा बाहिर ल्याएको बताए ।
गोपालका अनुसार दीपकको वास्तविक नाम दुपड प्रसाद र चिनाको नाम दुर्गा प्रसाद भएको तर भारत जेलमा बसेपछि उक्त नाम अपभ्रंस भएर दीपक जैशी भएको हो ।