फाइभजी परीक्षण गर्ने सरकारको निर्णय, परीक्षण अवधिभर निःशुल्क |
काठमाडौं । सरकारले चालु आर्थिक बर्षभित्र नयाँ जेनेरेशनको फाइभजी परीक्षण गर्ने भएको छ । आगामी आर्थिक बर्ष भित्रै सम्भावित अध्ययन गरेर नेपालका चार वटा प्रमुख शहरबाट फाइभजी परीक्षण हुने भएको हो ।
जसका लागि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकले फाइभजी परीक्षण गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधि सचिव हरि बस्यालले जानकारी दिए ।
मंगलबार मन्त्रालयमा सूचना प्रविधि क्षेत्रको बिकासका लागि आवश्यक नीति, कार्यक्रम तथा बजेट बारेको छलफलमा पनि फाइभजीको परीक्षणको बिषयमा चर्चा चलेको थियो । उक्त कार्यक्रममा सञ्चार मन्त्री पार्वत गुरुङले फाइभजी परीक्षण गर्ने र परीक्षणको लागि अवश्यक पूर्वाधार र प्रक्रियाको बिषयमा अध्ययन भइरहेको बताएका थिए ।
कार्यक्रममा परीक्षण अवधि भरको लागि जनताले निशुल्क सेवा उपभोग गर्न समेत पाउने सञ्चार सचिव बस्यालको भनाई छ । अहिले सरकारको योजना अनुसार काठमाडौं, पोखरा, विरगञ्ज , विराटनगरबाट पहिलो चरणमा फाइभजी परीक्षण हुने छ ।
फाइबजी परीक्षणको लागि आवश्यक फ्रिक्वेन्सीको व्यवस्थापन दूरसञ्चार प्राधिकरणले गर्ने छ । त्यस्तै फाइभजीको व्यवसायिक विस्तारको क्रममा फाइभजीका लागि तय भएका फ्रिक्वेन्सी अक्सन मार्फत सेवाप्रदायकलाई उपलब्ध गराइने छ ।
गत मंसिरमै प्राधिकरणको फ्रिक्वेन्सी व्यवस्थापन फोरमले सञ्चार मन्त्री अध्यक्ष रहने रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई फाइभजीको लागी आवश्यक व्यान्ड तय गरेर सिफारिस गरेको थियो ।
सञ्चार सचिव हरि बस्यालले नेपाल टेलिकमलाई फाइभजी परीक्षण आवश्यक तयारी गर्न समेत निर्देशन दिएको बताए । ‘सञ्चार मन्त्रालयले चालु आर्थिक बर्ष भित्रै फाइभजी परीक्षण गर्ने योजनाका साथ अगाडि बढेका छौं’ बस्यालले भने ।