महासङ्घका उपाध्यक्ष श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त नेपाली राजदूत विश्वकर्माबीच भेटवार्ता |
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, महासङ्घको द्वि राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमका सभापति एवं नेपालका लागि जाम्वियाका अवैतनिक महावाणिज्यदूत ई.देश बन्धु बस्नेत (अजित) र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत डा.निर्मल विश्वकर्मा बीच आज महासङ्घ सचिवालयमा औपचारिक भेटवार्ता भयो।
छिट्टै कार्यभार सम्हाल्न त्यसतर्फ जान लागेका राजदूत विश्वकर्मा आफ्नो कार्यकालमा आर्थिक कूटनीतिको प्रभावकारी परिचालन मार्फत आपसी लाभ उठाउन के–कसरी कार्य गर्न सकिन्छ सो सम्बन्धमा नेपाली निजी क्षेत्रसँग छलफल गर्न महासङ्घ सचिवालयमा आएका थिए।
नवनियुक्त राजदूत विश्वकर्मा दक्षिण अफ्रिकाका लागि आवासीय र अन्य ११ वटा अफ्रिकी राष्ट्रहरूका लागि गैर आवासीय राजदूतको जिम्मेवारी लिई त्यसतर्फ जान लागेका हुन्। महासङ्घका उपमहा निर्देशक गोकर्ण अवस्थी, उपनिर्देशक द्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछाने सहभागी रहेको सो भेटवार्तामा नेपालको दक्षिण अफ्रिका सहित अफ्रिकी मुलुकहरूसँग आपसी सम्बन्ध विस्तार, कनेक्टिीभीटीमा जोड दिनुपर्ने, पर्यटन सहित संस्कृति आदान प्रदान, निजी क्षेत्र निजी क्षेत्र बीचको सम्बन्ध बढाउने कार्यमा समेत राजदूतावासका तर्फबाट विशेष सहयोग हुनुपर्नेमा महासङ्घको जोड रह्यो।
त्यसै गरी व्यापार, लगानी, पर्यटन प्रवर्द्धन एवं विस्तारका लागि राजदूतावासले हेर्ने सबै देशका निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूसँग सहमत पत्रमा हस्ताक्षर गर्न अधिकतम पहल हुनुपर्ने, नेपालको प्रवर्द्धनमा ती देशहरूमा विशेष प्रवर्द्धनात्मक कार्यक्रमहरूको आयोजना गर्नुपर्ने, उद्यमी व्यवसायीहरूको प्रतिनिधिमण्डलको भ्रमण आदान प्रदानलाई मुख्य प्राथमिकतामा राखेर काम गर्नुपर्ने महासङ्घका तर्फबाट सुझाव दिइयो। यसका लागि महासङ्घले राजदूतावास सधैँ नजिकमा रहेर कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरियो।
सो अवसरमा राजदूत विश्वकर्माले आफ्नो कार्यकालमा अफ्रिकन देशहरू र नेपाल बीचको सम्बन्धलाई थप परिणामदायी बनाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह हुने भन्दै महासङ्घबाट प्राप्त सुझावहरूलाई आफूले सक्दो कार्यान्वयनमा लैजाने विश्वास दिलाए।