नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीको अवस्था कस्तो छ ? (विश्लेषण) |
काठमाडौं । नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीमा कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ, कुन— कुन सूचक कसका बलिया छन् भनेर हामीले वित्तीय विश्लेषण गर्न खोजेका छौँ । विश्लेषण चालु आर्थिक वर्षको ६ महिनासम्म (साउन देखि पुससम्म) को तथ्याङ्कलाई आधार मानिएको छ ।
चालु आर्थिक वर्षको (२०७७∕७८) दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश लघुवित्त कम्पनीको मूख्य सूचकको रुपमा रहेको नाफा बढेको देखिन्छ । नाफामा छिमेक लघुवित्त अगाडी छ भने प्रतिसेयर आम्दानीमा नेशनल माइक्रोफाइनान्स अगाडी छ । यस्तै जगेडा कोषमा निर्धन उत्थान लघुवित्त अगाडी छ । नाफा, प्रतिसेयर आम्दानी, जगेडाकोष, चुक्तापुँजी लगायतका सूचक एक अर्का लघुवित्तसँग तुलना गरेका छौँ ।
नाफामा छिमेक लघुवित्तको अग्रता
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म छिमेक लघुवित्त नाफा कमाउनेको सूचीमा अग्रस्थानमा छ । यसको नाफा २७.७९ प्रतिशतले बढेर ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । दोस्रोमा डिप्रोक्स लघुवित्त र तेस्रोमा साना किसान लघुवित्तको नाफा बढी छ ।
सबैभन्दा धेरै जगेडा कोष निर्धन उत्थान लघुवित्तको
पुस मसान्तसम्म सबैभन्दा धेरै जगेडा कोष निर्धन उत्थान लघुवित्तको छ । यसको जगेडा कोष ९१.३३% ले बढेर २ अर्ब ८८ करोड ९३ लाख ४ हजार रुपैयाँ पुगेको छ । यता, छिमेक र साना किसान लघुवित्तको जगेडा कोष पनि २ अर्ब रुपैयाँ माथि छ । यसअवधिमा सबैभन्दा धेरै जगेडा कोष वृद्धि गर्नेमा किसान लघुवित्त रहेको छ । यसको जगेडा कोष ११७७.५२% ले बढेर १० करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
प्रतिसेयर आम्दानीमा नेसनल माइक्रोफाइनान्स अगाडि
चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी नेसनल माइक्रोफाइनान्सको रहेको छ । यसअवधिमा यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६१ पैसाले बढेर वार्षिक १०१ रुपैयाँ ९० पैसा पुगेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा स्वदेशी लघुवित्त रहेको छ ।
यसको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ १५ पैसाले बढेर वार्षिक ८७ रुपैयाँ १३ पैसा पुगेको छ । चैत मसान्तसम्म ३४ लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ ।