नागरिक लगानी कोषले साढे ३ लाख कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै |
काठमाडौं । नागरिक लगानी कोषले साढे ३ लाख कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ ।
कोषले फागुन २१ गतेदेखि सर्वसाधारण समूहको ३ लाख ५४ हजार १५०.०५ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि इच्छुक सर्वसाधारणले चैत २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म १ बराबर ०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो। सोमध्ये बिक्री नभएको साढे ३ लाख कित्ता शेयर कोषले लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो।
सो शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन।
कोषको शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै, राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बागलुङ्ग, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौँडा, तुल्सीपुर र महेन्द्रनगर शाखा कार्यालय तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ बानेश्वर तथा विराटनगर र पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।