प्राइम कमर्शियल बैंकको ऋणपत्र फागुन १९ गतेदेखि |
काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले फागुन १९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। सो ऋणपत्रको नाम ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ रहेको छ ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । बाँकी १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो ।
सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा फागुन २३ गते बन्द हुनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ४ गतेसम्म लम्बिनेछ ।
सो ऋणपत्रको अवधि ८ वर्षको रहेको छ। बैंकले वार्षिक ८.७५ प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जनाएको छ ।
ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी सिंगल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संस्थाको रुपमा लिइन्छ ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।