निफमा ३१ देशका ६३ फिल्म प्रदर्शन |
काठमाडौं । नेपाल चलचित्र तथा सांकृतिक प्रतिष्ठानले हरेक बर्ष आयोजना गर्दै आएको ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ३१ देशका ६३ चलचित्र प्रदर्शन हुने भएका छन् । निफको चौथो संकरण आउँदो बर्षको वैशाख २३ गतेबाट २७ गतेसम्म काठमाण्डौमा आयोजना हुनेछ । कोरोना महामारीका कारण नेपाली चलचित्र निर्माण हुन नसकेका कारणले गर्दा नेपाली चलचित्रको उपस्थिती निफमा न्यून रहेको बताइएको छ ।
‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संकृती’को विकास गर्ने उद्देश्यसहित सुरु भएको महोत्सवमा यो बर्ष महामारीको बिषयमा बनेका चलचित्रलाई अलग्गै बिधामा प्रतिस्पर्धा गराई अवार्ड वितरण गरिने आयोजकले बताएको छ ।
कोभिडले पारेको प्रभावका बिषयमा बनेका चलचित्रलाई ५ सय अमेरिकी डलर र ट्रफी प्रदान गरिनेछ । यस्तै, अन्तरराष्ट्रिय प्रतिस्पर्धा अन्र्तगत उत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । यस्तै, उत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, उत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको बाग्मती अवार्ड पनि प्रदान गरिनेछ ।
यस्तै, नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट चलचित्रलाई नगद ५० हजार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केपी पाठकले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।