वर्ल्डलिंकविरूद्ध केवल टिभी व्यवसायीको उजुरी | कानुनअनुसार अनुमति लिएर सेवा दिइरहेको वर्ल्डलिंकको प्रष्टीकरण
काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा दिंदै आएको वर्ल्डलिंक विरुद्ध केवल टेलिभिजन व्यवसायीहरूले उजुरी दिएका छन् । कम्पनीले कानुन विपरीत नेट टिभीको सेवा दिएको भन्दै उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएका हुन् ।
नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा सेटअप बक्सबाट मात्र टेलिभिजन प्रसारण गर्नु पर्ने र स्वीकृत भए बमोजिम विभिन्न स्वदेशी तथा विदेशी टेलिभिजन च्यानलहरू वितरण गर्ने प्रयोजनका लागि मात्र आइपिटिभी नेटवर्क प्रयोग गर्नुपर्ने लगायत विभिन्न शर्त भए पनि एनआइटिभीले शर्त विपरीत काम गरेको महासघंको आरोप छ ।
कम्पनीले डाउनलिंक अनुमति प्राप्त नभएका विभिन्न च्यानलहरू, सेन्सर नै नगरिएका नेपाली तथा विदेशी चलचित्र र कार्यक्रम तथा भिडिओ अन डिमान्ड अन्तर्गत विभिन्न कार्यक्रमहरू वर्षौंदेखि निर्वाध रूपमा वायरलेस माध्यमबाट करोडौं मोबाइल सेटहरूमा समेत हेर्न मिल्नेगरी ओटिटीरमोबाइल एप्सरआईओएसरवेब टिभी मार्फत गैर कानुनी रूपबाट प्रसारण गरिरहेको महासंघको आरोप छ ।
वर्ल्डलिंकले भने कानुनअनुसार अनुमति लिएर सेवा दिइरहेको प्रष्टीकरण दिएको छ । कम्पनीका प्रवक्ता लक्ष्मण यादवले सरकारबाट लिएको लाइसेन्सबाटै नयाँ सेवा दिइएको बताए ।
कम्पनीले विश्वमा आएको नयाँ प्रविधि उपभोक्तालाई दिएको र उपभोक्ताहरू त्यसमै आकर्षित भएपछि व्यवसायीविरूद्धमा गएको कम्पनीको बुझाइ छ ।
’हामीले दिएको नयाँ प्रविधि हो । यसमा गुणस्तरसँगै सस्तो पनि छ । यसो हुने वित्तिकै उपभोक्ताले तुलना गर्छन् । तुलना गर्दा नयाँ प्रविधिमा ग्राहक आए । वर्षौदेखि एकाधिकारजस्तै गरी व्यवसाय गरेकाहरू नयाँ प्रविधिमा जानु स्वभाविक नै हो,’ उनले भने, ’तर हामीलाई के विश्वास छ भने सरकारले नयाँ प्रविधिलाई रोक्दैन ।’