ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड, सवा ३ लाखले पाए १० कित्ता शेयर |
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन ७ गते, शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्व साधारणमा बिक्री गरेको आइपीओ आज कम्पनीको कार्यलयमा बाँडफाँड गरिएको हो ।
क्यापिटलले आवेदन दिएका कुला लगानीकर्तामध्ये ३ लाख २५ हजार १६५ जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको बताएको छ । सो बाँडफाँटपश्चात बाँकी रहेको २ कित्ता शेयर प्रतिव्यक्ति १ कित्ताका दरले दुई लगानीकर्तामा बाँडफाँट गरिएको क्यापिटलको भनाइ छ । अर्थात, ३ लाख २५ हजार १६३ जना आवेदकले १० कित्ता पाएका छन् भने २ जनाले ११ कित्ता पाएका छन ।
हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो।कम्पनीले बिक्रीमा ल्याएको आइपीओको यो ६.९८ गुणा धेरै हो ।
मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण गरिएको हो ।
ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो ।