ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार विहान ९ बजे बाँडफाँड हुने, १० लाख १२ हजार आवेदकले नपाउने |
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार विहान बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्व साधारणमा बिक्री गरेको आइपीओ शुक्रबार विहान ९ बजे कम्पनीको कार्यलयमा बाँडफाँड गरिने भएको हो ।
हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । कम्पनीले बिक्रीमा ल्याएको आइपीओको यो ७.३७ गुणा धेरै हो ।
मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ ।
त्यस अनुसार ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् । हालसम्म आवेदन दिएकामध्ये १० लाख १२ हजार अर्थात ७५.७ प्रतिशलले शेयर नपाउने देखिन्छ ।
ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो ।