महिला लघुवित्तको आईपीओमा ३९.८२ गुणा आवेदन |
काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा करिब साढे १ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । आइतबार ५ बजेसम्ममा ९ लाख ६३ हजार ८६८ वटा आवेदनबाट सो बराबरको शेयर माग भएको हो ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिंग लिमिटेडका अनुसार आईपीओमा १ करोड ४९ लाख ३५ हजार ९७० कित्ता अर्थात १ अर्ब ४९ करोड ३५ लाख ९७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणकालागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ३९.८३ गुणा बढी हुन आउँछ ।
लघुवित्तको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। पछिल्लो समय आईपीओमा आवेदन दिनेको संख्या उच्च देखिएको छ । त्यस अनुसार यस संस्थाको आईपीओ पनि १० कित्ता शेयरको लागि आवेदन गरे पुग्ने देखिन्छ ।
लघुवित्तको आईपीओमा फागुन ५ गतेसम्ममा आवेदन दिन सकिनेछ।
लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले संस्थाको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ ।