२ अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक वार्षिक ९ प्रतिशत ब्याजदर पाइने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०८२ क’ विक्री गर्ने भएको छ । राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा (ब्याजकर लाग्ने गरी) नागरिक वचतपत्र विक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।
बचतपत्रमा माघ २७ गतेदेखि फागुन १८ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ । जसको निष्काशन फागुन २५ गते गरिने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको सावाँ फिर्ता २०८२ फागुन २५ गते हुने छ ।
प्रत्येक छ महिनामा व्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ ।
उक्त वचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् ।
आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू,बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरूबाट बचतपत्रको व्याज लिन सकिनेछ ।
सो वचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने छ।