महासंघमा सहरी विकास समिति विस्तार | व्यवस्थित शहरी विकासलाई पहिलो प्राथमिकतामा राख्न अध्यक्ष गोल्छाको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सहरी विकास समितिमा सदस्यहरू थप भएका छन् । मीनमान श्रेष्ठको नेतृत्वमा रहेको सो समितिमा शुक्रबार सदस्यहरू थप गरी बिस्तार गरिएको हो ।
समितिको सहसभापतिमा पूर्वसचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह चयन भएका छन् ।
समितिका सदस्यहरूमा नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्वअध्यक्ष इन्जिनियर ध्रुव थापा, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्सका पूर्वअध्यक्ष स्वरुप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजंघा हाउजिङका सञ्चालक विनय उपाध्याय, वरिष्ठ स्ट्रक्चर इन्जिनियर डा. पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ कानुनी सल्लाहकार डा. गोकुलप्रसाद बुर्लाकोटी छन् ।
समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद बुद्धिनारायण श्रेष्ठ, नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत छन् ।
समितिका आमन्त्रित सदस्यहरूमा जेनेरल इन्सुरेन्स सञ्चालक कृष्ण बोहोरा, गंगा रियलस्टेट चितवनका अध्यक्ष सीए दिनेश चुके, आईएनजीए रियल इस्टेट, बुटवलका सञ्चालक नारायण बञ्जाडे, जियोटेक इञ्जिनियर सञ्जय कुमार जैन, शिवम हाउजिङ, बिर्तामोडका प्रबन्ध सञ्चालक सुदीप प्रसाईं, उत्तरगंगा इन्भेस्टमेन्ट ग्रुप सुर्खेतका अध्यक्ष सुदर्शन श्रेष्ठ र सालिमार होम वीरगञ्जका सञ्चालक एन्जिनियर हेमन्त वैद्य छन् ।
समिति बिस्तार कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित सहरी विकासलाई पहिलो प्राथमिकतामा राखी आवश्यक नीति नियम बनाउनुपर्ने बताए । उनले समितिले त्यसका लागि परिणाममुखी काम गर्नेमा विश्वास व्यक्त गरे ।
समिति बिस्तारसँगै बसेको पहिलो बैठकले महासंघको वर्तमान कार्यकालमा कम्तीमा एउटा प्रदेशमा नमुना सहर बनाउने लक्ष्यका साथ काम गर्ने निर्णय गरेको छ ।