नेपाल वायुसेवा निगमले १५ लाख सम्मको सरल कर्जा दिनेबारे राष्ट्रिय वाणिज्य बैंकसँग गर्यो सम्झौता |

काठमाडौं । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैंक बीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । निर्धारित सेवा अवधि पुरा गरेका निगमका कर्मचारीहरुले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौता भएको हो ।
निमगको सिफारिसमा १५ लाख सम्मको सरल कर्जा हुनेछ । सरल कर्जा सुविधा उपभोग गर्ने कर्मचारीले सेवा अवधि बाँकी छँदै राजिनामा गरेमा वा कुनै कारण सेवामा बहाल रहन अयोग्य भई सेवाबाट हटेमा बैंकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट निजले पाउने जुनसुकै रकमबाट कट्टा गरी बैकलाई उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । कर्जाको व्याजदर हाललाई आधारदर ५.७४ प्रतिशतमा २ प्रतिशत प्रिमियम थप गरी ७.७४ प्रतिशत रहनेछ ।
सम्झौतामा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
तलबी बचत खाता संचालनमा रहेका र निगममा ५ वर्ष सेवा अवधि पुरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा बीना धितो सरल कर्जा उपभोग गर्न पाउनेछन् भने सेवा अवधि ३ वर्ष भन्दा कम भएका कर्मचारीलाई कर्जा प्रवाह सम्वन्धी विधि बैंकले तोके बमोजिम हुने सम्झौतामा उल्लेख छ ।